काठमाडौँ - नयाँ नेपाली फिल्म ‘सोल अफ द कमाण्डो’ को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘जिन्दगीको…’ बोलको गीतको अडियो सार्वजनिक गरिएको हो। अडियो ओएसआर डिजीटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
आगामी शुक्रवार अर्थात् मंसिर २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्मको कथा खुल्ने भएकोले अडियो गीतमात्र सार्वजनिक गरिएको निर्माण टिमको भनाइ रहेको छ। गीतमा राजेश पायल राईको स्वर र सन्तोष दुमी राईको संगीत रहेको छ। गीतको शब्द रचना भने फिल्मका मुख्य अभिनेता राजकुमार राईले गरेका छन्।
राजकुमार राईको २४ वर्षपछि ‘सोल अफ द कमाण्डो’ फिल्ममार्फत अभिनय क्षेत्रमा पुनरागमन भएको छ। उनले सन् १९९८ मा नेपाली फिल्म ‘कमाण्डो’ मा मुख्य भूमिका निर्वाह गरेका थिए। अहिले पनि उनलाई मुख्य भूमिकामा नै देख्न सकिन्छ।
मिलन राईको कथा र सनम जेबीआर रानाको स्क्रिप्ट रहेको ‘सोल अफ द कमाण्डो’ मा शिशिर वाङ्ग्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, कमला खापुङ्ग लिम्बु, सुष्मिता लिम्बु, एन्जल राई, टिकाराम ठकुरी, सोनीका राईको पनि मुख्य भूमिका छ।
फिल्मको निर्देशन युवराज वीरबहादुर राईले गरेका हुन् भने कार्यकारी निर्माता विजय एल राई हुन्। सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको यो फिल्मको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बू छन्। फिल्मका गीतमा आनन्द राई र सन्तोष दुमी राइको संगीत छ।
फिल्ममा छायांकन दिर्घ गुरुङको, सम्पादन नहकुल खड्काको, भिएफएक्स सत्यम राना, कलर जीवन थापा, ट्रेलर बन्दे प्रसाद, बाबु श्रेष्ठको ब्याकग्राउण्ड म्युजिक, सिमोन राजबंशीको कोरियोग्राफी, द्वन्द निर्देशन एनबी महर्जन र सानु कुमार महर्जनको रहेको छ।
प्रोडक्सन मेनेजर विमल धमला र सीमा राईले गरेका हुन् भने फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ।