पाँचथर - पाँचथरको मिक्लाजुङ गाउँपालिकाले ४५ वर्ष उमेर पूरा भएका अविवाहित महिलालाई भत्ता दिने भएको छ। गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने ४५ वर्ष उमेरसम्म विवाह नगरी बसेका महिलालाई चालु आर्थिक वर्षको सुरुदेखि लागू हुनेगरी भत्ता दिने प्रक्रिया थालेको हो।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अग्नी चौलागाईंका अनुसार उनीहरुको जीवन निर्वाहमा सहजीकरण गर्न पालिकाले मासिक १ हजार ५ सय रुपैयाँ भत्ता दिन लागेको हो। यो निर्णय कार्यन्वयनमा आएसँगै यहाँका अविवाहित महिलाले अब वार्षिक १८ हजार रुपैंयाका दरले रकम पाउनेछन्।
यो व्यवस्था कार्यन्वयन गर्न गत असार १० गते सम्पन्न दसौं गाउँसभामा प्रस्ताव पेस भएको थियो। प्रस्ताव पारित भएसँगै अब कार्यान्वयनका चरणमा प्रवेश गरेको गाउँपालिकाले जनाएको छ। भत्ता वितरणका लागि पालिकास्थित ८ वटै वडा कार्यालयबाट ४५ वर्ष पूरा भएका अविवाहित महिलाको अभिलेखकरण सुरु गरेको पनि चौलागाईंले बताएका छन्।
मिक्लाजुङले उक्त रकमलाई सामाजिक सुरक्षा भत्ताकै रुपमा परिभाषित गरेको छ। मिक्लाजुङले ३ वर्ष अगाडिदेखि मापदण्ड बनाएर धेरै अन्न फलाउने किसानलाई ५० हजारदेखि १ लाख रुपैयाँसम्म पुरस्कार दिँदै आएको छ।