कञ्चनपुर - कृष्णपुर नगरपालिका–२ खल्लागोठका अजव सिंह खड्का पूर्खौंदेखि थालेको परम्परागत पेशालाई अगाडि बढाउँदै आएका छन्। बुबा बाजेले सम्हालेको दुबो धागो बनाउने पेसालालाई ७१ वर्षीय खड्काले सम्हाल्दै आएका हुन्। डडेल्धुराको अमगरगढी नगरपालिका–६ छचोडाबाट दुई दशकअघि बसाइँसराइ गरी यहाँ झरेका उनले दुबो धागो बनाउने कार्यलाई निरन्तरता दिँदै आएका छन्।
सुुदूरपश्चिमको संस्कृति अनुसार गौरापर्वमा महिलाले पुरुषले जनै धारण गरेझै दुबोधागो लगाउने गर्दछन्। दुबोधागोलाई धर्मशास्त्रमा सप्तम्या (सात ओटा धागोको डोरा) भनिन्छ। वैवाहिक संस्कारबाट मात्र शुद्ध नहुने हुँदा महिलाले दुबो धागो धारण गर्नुपर्ने चलन रहेको छ। गौरा पर्वको सप्तमीका दिन गौरालाई गौराघरमा भित्राएपछि महिलाहरुले दुबो धागो चढाउने र धारण गर्ने गर्दछन्। यसै दुबो धागो बनाउने कार्यमा खड्का छ दशकदेखि क्रियाशील रहदै आएका छन्।
“छचोडाका पूरै गाउँका बासिन्दाको कमाइको साधननै दुबो धागो बनाएर बेच्नुे रहेको थियो”, खड्काले भने, “जसबाट गाउँका बासिन्दाको वर्षभरिको खर्च चल्थ्यो।” दुबो धागो बेचेर वर्षभरिका लागि अन्न खरिद गर्दथ्यौं। लत्ताकपडाको जोहोसमेत त्यसबाटै हुन्थ्यो। हाल युवाहरुले दुबो धागो बनाउने कार्य छाड्दै गएका छन्।
पहाडमासमेत थोरैले मात्रै दुबो धागो बनाउछन्। तेह्र वर्षको छदै बुबाबाट दुबो धागो बनाउन सिकेको उनी बताउछन। तराई झरेपनि यस पेसालाई सम्हादै आएको उनी सगर्व सुनाउछन। भारतको नयाँ दिल्लीबाट उनले एक वर्षका लागि पुग्ने गरी ५० किलो धागो खरिद गरेर ल्याउछन्। धागोलाई पहेँलो, रातो र कालो रङग लगाएर दुबो धागो बनाउछन्। रङ्गसमेत भारतबाटै ल्याउने गरिन्छ।
दुबो धागो बनाएर बेचेर दैनिक रु ७०० जति कमाइ हुने गरेको छ। दुबो धागो थोकमा बैतडी, डडेल्धुरा, कैलाली र कञ्चनपुरका व्यापारीले खरिद गर्ने गर्दछन्।
दुबो धागो बनाउने कार्यबाट नौ जनाको परिवारको खर्च सहज रुपमा चलाउँदै आएको खड्काले बताए। “दुबो धागो बनाउने कार्यबाट परिवारको खर्च सहज रुपमा चलाउँदै आएको छु। यस पेसाबाट पाँच छोरा दुई छोरीको विवाह गरे। घरखर्च चलाएँ। चलाउँदै आएको छु। पैसाका लागि कहिले पनि अरु कहाँ हात थाप्नु परेन”, उनले भने, “छोराहरुले आ–आफनै तरिकाले गरेर खाँदै छन्। बुढाबुढी हामी यही बेचेको पैसाले ठाँटले बसेर खाँदै छौं। लगाउँदै छौं।”
धागो र त्यसमा लगाउने रङ्ग ल्याउनका लागि खड्का आफै नयाँ दिल्ली पुग्ने गर्छन्। दिल्लीका भारतीयहरुले पुरानो धागोको ग्राहक भएकाले आदरपूर्वक सम्मान गर्ने गरेको उनी बताउछन्।
जन्म मिति अनुसार नागरिकतमा जन्म मिति नलेखिँदा उमेर ७१ वर्ष पुगेपनि ज्येष्ठ नागरिक सुरक्षावापतको भत्ताको रकमबाट भने उनी वञ्चित छन्। उनी भन्छन, “दुबो धागो बनाउने धागोमा भन्सार अधिक लाग्ने गरेको छ। सरकारले त्यो मिनाहा गरे यस पेसालाई सहज रुपमा अगाडि बढाउन सकिन्थ्यो।”
रातो, पहेँलो, कालो धागो मिसाएर बनाइएको दुबोधागो गौरादेवीमा अर्पण गरी, अभिषेक गरी गौरापर्वको सप्तमीका दिन लगाइने गरिन्छ। कसैसकैले अष्ठमीका दिन गौरा खलामा शिव पार्वतीको पूजाअर्चना पश्चात दुबो धागो लगाउने चलन छ। प्रत्येक वर्ष पूजा गरेर नयाँ दुबो धागो लगाउनुपर्ने चलन छ।