काठमाडौँ - बेलायती टेनिस स्टार इम्मा राडुकानु कोरिया ओपनको दोस्रो चरणमा पुगेकी छिन्। दक्षिण कोरियाको सोलमा भएको प्रतियोगिताको पहिलो राउन्डको खेलमा जापानकी मोयुका उचिजिमालाई पराजित गर्दै राडुमानुले दोस्रो चरणमा स्थानमा बनाएकी हुन्।
१९ वर्षीया राडुकानुले उचिजिमालाई ६-२, ६-४ ले पराजित गरेकी हुन्। दोस्रो सेटमा ५-० ले अघि रहेकी उनलाई उचिजिमाले कडा टक्कर दिएकी थिइन्। राडुकानुले लगातार सेट प्वाइन्ट गुमाउँदा उचिजिमाले दबाबमा राखेकी थिइन्।
राडुकानुले अन्तिम १६ मा बेल्जियमकी यानिना विकमेयरको सामना गर्ने छिन्। ३२ वर्षीया विकमेयर अहिले विश्व वरीयतामा ४६०औं स्थानमा छिन्। पूर्व विश्व १२ उनी १ वर्ष अघि मात्रै आमा बनेकी थिइन्। उनी सन् २०२२ को सुरुवातबाट पुनः खेलमा फर्किएकी हुन्।
गत अगस्टमा विश्व वरीयतामा १०औं स्थानमा रहेकी राडुकानु अहिले ७७औं स्थानमा रहेकी छिन्। अमेरिकी (यूएस) ओपनको पहिलो खेलमै पराजय व्यहोरेपछि उनको वरीयता खस्किएको हो।
२१ वर्षीया उचिजिमाले अहिलेसम्म कुनै पनि ग्रान्डस्लाम खेलेकी छैनन्। उनी अहिले विश्व वरीयतामा १२६औं स्थानमा छिन् महिला एकल टेनिसको ग्रान्डस्लाम जित्ने बेलायतको ४४ वर्ष लामो प्रतिक्षा समाप्त गर्दै राडुकानुले गत वर्ष यूएस ओपनको उपाधि जितेकी थिइन्।
सन् २००४ पछि ग्रान्डस्लाम जित्ने राडुकानु सबैभन्दा कान्छी खेलाडी पनि हुन्। सन् २००४ मा रुसी टेनिस सुन्दरी मारिया सारापोभाले विम्बल्डन जित्दै ग्रान्डस्लाम जित्ने सबैभन्दा कान्छी खेलाडीको कीर्तिमान बनाएकी थिइन्। राडुकानुले १८ वर्षको उमेरमा पहिलो ग्रान्डस्लाम जितेकी हुन्।
राडुकानुको जन्म क्यानडामा भएको थियो। राडुकानु रोमानियाकै पूर्व विश्व नम्बर एक सिमोना हालेपको खेलबाट प्रभावित भएर टेनिसमा होमिएकी हुन्। उनले पाँच वर्षको उमेरदेखि टेनिस खेल्न थालेकी हुन्।