प्रज्ञाको पुस्तक प्रदर्शनीमा उल्लेख्य पाठक

नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले यही फागुन १ गतेदेखि सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको भीड लाग्न थालेको छ।

कोरोना जोखिम कायमै रहेका बेला पनि सोचेभन्दा धेरै पाठक पुस्तक प्रदर्शनीमा आएको प्रतिष्ठानका व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिए। प्रदर्शनीमा दर्शनाचार्य (एमफिल) मा अध्ययनरत नेपाली, समाजशास्त्र, लोकसाहित्यलगायत विषयका अनुसन्धाताले बढी पुस्तक खरिद गरेका छन्। विभिन्न विषयमा स्वतन्त्र रुपमा अनुसन्धान गरिरहेका र विभिन्न पुस्तकालयका लागि पुस्तक खरिद गर्न आउनेको भीड लागेको छ। फागुन १ देखि फागुन १२ गतेसम्म करिब रु चार लाखको पुस्तक बिक्री भएको उनले सुनाए। 

प्रदर्शनीमा यसपटक ‘नेपाली लोक विश्वास’, ‘भरतनाट्यशास्त्रम्’, ‘प्रज्ञा शैक्षणिक व्याकरण’ र दर्शन शास्त्रसम्बन्धी धेरै पुस्तक बिक्री भएका छन् । नेपाली बृहत् शब्दकोश पनि उल्लेख्य मात्रामा बिक्री भएको बताइएको छ। प्रदर्शनी फागुन १५ गतेसम्म जारी रहनेछ। यसपछि नयाँ वर्षका अवसरमा पनि प्रतिष्ठानले पुस्तक प्रदर्शनी गर्ने जनाएको छ। प्रदर्शनीमा साहित्य, समालोचना, बाल साहित्य, कोश, कथा, कविता, इतिहास, लोकसाहित्य, संस्कृति, ललितकला, सङ्गीत, विभिन्न ‘जर्नल’ गरी ५०० प्रकारका पुस्तक एवं पत्रपत्रिका राखिएका छन्। प्रदर्शनीमा १५ देखि ४० प्रतिशतसम्म सहुलियतमा पुस्तक बिक्री भइरहेको छ।

नेपाली बृहत् शब्दकोश एउटा किन्दा १५ प्रतिशत र दुईवटा किन्नेलाई २० प्रतिशत सहुलियत दिइएको छ। प्रदर्शनीमा प्रतिष्ठानका १० नयाँ प्रकाशन राखिएका छन् भने थप गरिएका प्रकाशनमा ‘नेपाली लोक विश्वास’, ‘नेपाली निघण्टु’, ‘प्रज्ञा शैक्षणिक व्याकरण’, ‘काठमाडौँ उपत्यकाका केही जात्रा’ लगायत छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×