काठमाडौं - सुनसरीको धरान उपमहानगरपालिका–११ मंगलबारे चोकबाट नियन्त्रित लागूऔषध स्पास्पेन ५ सय ५५ ट्याव्लेट र ट्रामोल २ सय ७० क्याप्सुल सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–११ बस्ने २२ वर्षीय सागर बिक र सोही उपमहानगरपालिका–४ बस्ने २० वर्षीया युनिका श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा उनीहरूले उक्त लागूऔषध धरान उपमहानगरपालिका–१२ चतरा लाईन बस्ने ३४ वर्षीय चिम्रे भन्ने हेम बहादुर ठकुरीलाई पुर्याई दिन लागेको खुल्न आएपछि हेम बहादुरलाई समेत आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१ पुलचोक स्थित होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही महानगरपालिका–१२ गोन्द्राङ बस्ने २३ वर्षीय यम बहादुर गुरूङ लगायत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङको बिराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध एभिल २ एम्पुल, डाईजेपाम २ एम्पुल, लुपिजेसिक २ एम्पुल, फेनारगन २ एम्पुल र नाईट्राभेट ३० ट्याब्लेट सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका–६ बस्ने १९ वर्षीय रामु बिक र उर्लाबारी नगरपालिका–९ बस्ने १९ वर्षीय भिम कटेल रहेका छन् ।लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।