गजलकार वसन्त ओली वसन्ती २०४६ साल जेठ ६ गते (साबिक ढिकपुर -३ - दुन्द्रा, दाङ) हालको घोराही उपमहानगरपालिका -८- दाङमा जन्मिएका हुन्। आमा हिरा ओली र बुवा निम प्रसाद ओलीका सन्तान गजलकार वसन्त ओली वसन्ती हाल घोराही उपमहानगरपालिका -१0- नारायणपुरमा बसोबास गरिरहेका छन्। उनको प्रकाशित कृतिहरु तिर्सना (उपन्यास-२०६९), कोशेली (संयुक्त मुक्तक संग्रह), इन्द्रेणी -४ (संयुक्त गजल संग्रह) रहेका छन्।
उनी पुष्प पराग वर्षको सर्बोत्कृष्ट गजलकार सम्मान- २0७४ (भक्तपुर ), गोदावरी गजल साधना सम्मान -२०७५ (ललितपुर ),सारथि साहित्य प्रतिस्ठान सम्मान-२0७६ आदि पुरस्कारबाट सम्मानित भइसकेका छन्।
प्रतियोगिताका कुरा गर्ने हो भने उनले सदाबहार राष्ट्रिय गजल प्रतियोगिता महेन्द्रनगर - २०७५ (प्रथम), सदाबहार खुल्ला गजल प्रतियोगिता महेन्द्रनगर -२०७४- (प्रथम ), रोल्पा -माडी गजल प्रतियोगिता -२०७३ रोल्पा - (प्रथम ), सर्जक जमघट साहित्य समाज गजल प्रतियोगिता - कालीमाटी काठमाडौ -२0७५( प्रथम), सर्जक जमघट साहित्य समाज गजल प्रतियोगिता - कालीमाटी काठमाडौ -२0७५( प्रथम), विश्वब्यापी खुल्ला अन लाईन गजल प्रतियोगिता भारत -२0७३ - (द्वितीय ) आयोजक - परदेशी समाज भारत, ५ नं प्रदेशस्तरिय गजल प्रतियोगिता बुटवल -२०७५ -(द्वितीय ), ५ नं प्रदेशस्तरिय गजल प्रतियोगिता -२0७२ रोल्पा - तृतीय लगायतका प्रतियोगितामा उत्कृस्ट स्थान हासिल गरेका छन्। उनको नयाँ गजल संग्रह 'बोई' प्रकाशन भएर वितरणको लागि तयार छ। उक्त गजल संग्रह चाडैं नै पाठकहरुको हाथमा पुग्ने गजलकार वसन्त ओली वसन्ती बताउँछन्।
आउनुहोस् उनै गजलकार वसन्त ओली वसन्तीका दुई गजल पढौँ
१.
गाउँबाट सहरमा आमा बाँचुञ्जेल बारम्बार आइपुग्छ
छोरालाई हर्लिक्सको डिब्बाहरूमा अचार आइपुग्छ
शृङ्गार गरेरै आएको थिएँ, 'शृङ्गार गर्नु पर्दैन ?´ भन्यौ
तिम्रो पो घरबाट निस्किने बित्तिकै बजार आइपुग्छ
मलाई मायाको सट्टामा केवल माया चाहिएको थियो
के गर्नु माया दिएकोमा जहिल्यै आभार आइपुग्छ
मैले हिरा पाउनु पर्ने हो कोइला पाएँ भन्नुभयो
बुझ्नुस् खातामा तलव काम गरे अनुसार आइपुग्छ
धेरै नहाँस् छोरा धेरै हाँसे रुनुपर्छ भनेर भन्छ्न्
आमा भयो पिर नगर्नुस् दशैँं पछि नै तिहार आइपुग्छ
२.
हामी आफै समान छैनौँ सम्बन्ध कसरी गतिलो हुन्छ
धेरै पानी र थोरै धूलोको भेट भयो भने हिलो हुन्छ
सहरकी छोडेर गाउँकीलाई किन रोजेको भन्नुभयो
बुझ्नुस् ग्याँस भन्दा दाउरामा पकाएको रसिलो हुन्छ
शान्त मान्छेलाई जिस्काईरह्यौ, ऊ अन्तमा रिसायो
ठिकै हो सङ्लो पानीलाई पनि चलायो भने धमिलो हुन्छ
तिमी भुत्तिएकी भन्ने आज आएर बल्ल थाहा पाएँ
खुकुरी हुँ भन्थ्यौ सोचेकोथेँ खुकुरीको धार धारिलो हुन्छ
हामीहरू साना मान्छे भनेर मिसाउँंदैन समाजले
आखिर थाहा छ होला ग्राम -ग्राम मिलेर किलो हुन्छ