काठमाडौँ - जिम्मेवारी छाडेको करिब १७ महिनापछि पुनः विष्णु पौडेल अर्थ मन्त्रालयको नेतृत्वमा फर्केसँगै निजी क्षेत्र उत्साहित बनेको छ। २०७७ साल असार २९ गते ‘लोकतान्त्रिक वाम गठबन्धन’ सरकार गठन भएसँगै पौडेलले अर्थमन्त्रीको पद गुमाएका थिए। तर, मन्त्रालय छाडेको करिब डेढ वर्षपछि उनी फेरि अर्थ मन्त्रालयको नेतृत्वमा फर्किएका हुन्।
वाम एकता टुटेसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादी लगायतका पार्टी मिलेर सरकार गठन गरेका थिए। तर, त्यसको १७ महिनापछि नेकपा एमाले र माओवादी केन्द्रको पुनर्मिलनसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा सरकार बनेको छ। नयाँ सरकार गठन भएलगत्तै प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री पौडेलले निजी क्षेत्रसँग छुट्टा–छुट्टै भेटवार्ता गरिसकेका छन्।
निजी क्षेत्रमैत्री भनेर चिनिने पौडेल तेस्रो पटक अर्थ मन्त्रालयको नेतृत्वमा आएपछि निजी क्षेत्रले अर्थतन्त्र सुधार्ने सुझावसमेत पेस गरिरहेका छन्। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श गरी तीन वटै व्यावसायिक छाता संगठनले अर्थमन्त्री पौडेललाई भेटेर अर्थतन्त्र सुधार्ने सुझाव पेस गरेका हुन्।