काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) तथा महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहित तीन जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा परेको छ ।
प्रमाणमञ्च डटकमका प्रधान सम्पादक पदमप्रसाद पोख्रेलले उनीहरूविरुद्ध कुटपिट र लुटपाटको मुद्दा दिएका हुन् । उक्त अनलाइनले रिपोर्टिङका क्रममा महानगर प्रहरीले पोख्रेलमाथि कुटपिट र लुटपाट गरेकाले मुद्दा दिएको उल्लेख गरेको छ ।
फागुन १६ मा फुटपाथ व्यापारी र महानगर प्रहरीबीच भएको झडपको रिपोर्टिङका क्रममा आफूमाथि कुटपिट भएको पोख्रेलको दाबी छ । ‘महानगरले पटक–पटक न्याय दिने सम्झौता गरेर आलटाल गरेपछि’ मुद्दा दिनुपरेको उनको भनाइ छ । महानगर प्रहरीको आक्रमणमा परी आफू घाइते भएको पोख्रेलको भनाइ छ ।
त्यस्तै क्यामेरा, ल्यापटप तथा अन्य केही सामग्री पनि जफत गरिएको उनले उल्लेख गरेका छन् । उनीहरूविरुद्ध कुटपिट अभियोगमा मुलुकी अपराध संहिताको दफा १९१ को (३) बमोजिम ३ वर्ष कैद र ३० हजार जरिवाना तथा लुटपाट अभियोगमा दफा २८६ (३) बमोजिम सामान र बिगो गरेर ३ लाख ४४ हजार ११७ रुपैयाँ भराउन माग गरिएको छ । गत फागुन १६ गते सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको थियो । सो क्रममा आफूलाई कुटपिट गरिएको र क्यामेरालगायत सञ्चार उपकरण फुटाइ दिएको आरोप प्रधान सम्पादक पोखरेलले अदालतमा दिएको निवेदनमा उल्लेख गरिएको छ ।