काठमाडौं । काठमाडौं महानगरपालिका १५ स्वयम्भू स्तुपाबाट मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई शुक्रबार (२०८१/०४/११) ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको गल्छि गाउँपालिका ५ रैले बस्ने २१ वर्षीय प्रकाश तामाङलाई बागमती प्रदेश–०२–०३३ प २७८९ नम्बरको मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो।
गत साउन ७ गते सोमबार काठमाडौंको चन्द्रागिरि नगरपालिका ८ सानो मन्दिरका राज कुमार लोले घर अगाडि पार्किङ गरिराखेको बागमती प्रदेश–०२–०३० प ०५९९नम्बरको मोटरसाइकल चोरी भएको भनि दिएको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा तामाङलाई उक्त मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै सोही ठाउँबाटै गल्छि गाउँपालिका ५ सागिनेका २० वर्षीय सरोज तामाङलाई पनि बागमती प्रदेश ०२–०३७ प ८८ ५१ नम्बरको मोटरसाइकल सहित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
वास्तविक नम्बर बागमती प्रदेश–०२–०४२ प २९६४ रहेको उक्त मोटरसाइकल ठमेल सात घुम्तिको एक होटलको पार्किङबाट हराएको भनि लमजुङको सुन्दरबजार नगरपालिका १० का सुदिप अधिकारीले २०८० कार्तिक २६ गते खोजतलासका लागि निवेदन दिएका थिए।
नियन्त्रणमा आएका उनिहरूलाई आईतबार थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वुराज खड्काले जानकारी दिनुभयो । यस कार्यमा संलग्न अन्य व्यक्तिको खोजि तथा थप अनुसन्धान कार्य जारी रहेको समेत प्रवक्ता खड्काले जानकारी दिए।
आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रवक्ता खड्काले सम्पूर्णमा अनुरोध गरेका छन् । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम सजग भै सुरक्षित स्थानमा पार्किङ गर्न हुन समेत अनुरोध गरिन्छ।
सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपालप्रहरीको हटलाईन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ।