काठमाडौँ - गजलकार प्रदीप रोदनको पहिलो गजल कृति ‘मफलर’ शनिबार सार्वजनिक भएको छ। काठमाडौँको प्रज्ञा-प्रतिष्ठान डबलीमा आयोजित कार्यक्रममा साहित्यकार अमर न्यौपाने र लेखक रोदनले पुस्तक सार्वजनिक गरेका थिए। उक्त अवसरमा लेखक रोदनले गजल वाचनसमेत गरेका थिए।
कार्यक्रममा साहित्यकार न्यौपानेले रोदनको यो कृति गजलको रदिफ र काफिया मिलाइएको गजलसङ्ग्रह मात्र नभएर, मन्त्रहरूको सङ्ग्रह रहेको बताएका छन्।
‘जीवनलाई मथेर निकालिएको नौनी हो मफलर’, उनले भने, ‘खारिएका पवित्र वाक्य यस सङ्ग्रहमा छन्।’ उनले यो सिरानीमुनि राख्ने कृति भएको बताएका छन्। ‘मफलरमा जीवन र हृदयको यस्तो ध्वनि छ, जहाँ अध्यात्म, व्यवहार र दर्शन मिसिएको छ,’ साहित्यकार न्यौपानेले थपे।
कार्यक्रममा लेखक रोदनले गजल लेख्दा आफूले कैयौं पटक आफ्नै हृदय छामेको र सेरहरूको धड्कन महसुस गरेको बताएका छन्र्। ‘केही नबन्दा अरु केही बन्दो रहेछ। यसरी सेरहरूको माया क्षेत्र हृदयको गहिराइसम्म पुग्यो र गजल बने। जहाँ गजल बनेनन्, त्यहाँ फर्दहरू बने,’ उनले भने।
‘थाहा छैन, यी गजलले तपाईंको जीवनमा सौन्दर्य थप्छन् या थप्दैनन्। यी गजल मैले सृष्टि गरेका बचेराहरू हुन्। आजसम्म आफ्नै पखेटामुनिको न्यानोमा हुर्काएँ। अब यी गजलका आफ्नै पखेटा पलाए होलान् भनेर तपाईंहरूकै संसारमा उडान भर्न पठाएको छु।’
गोरखा पालुङटार पाण्डेबेसीका प्रदीप रोदनको कर्मथलो पनि त्यहीँ हो। उनी आफ्नै गाउँको सरकारी विद्यालयमा शिक्षक छन्। देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर धेरैको मन जितेका रोदनको 'मफलर' पहिलो गजलकृति हो।
उनले २०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, ०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र ०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ पाएका छन्।