काठमाडौँ - नेपाल वायुसेवा निगमले आजदेखि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान भर्ने भएको छ।
गत जेठ ३० गतेदेखि निगमले हप्ताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको छ। अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाउन लागिएको हो।
बिहान ९ बजे भैरहवाबाट काठमाडौँ ल्याएका यात्रुलाई ११ बजे निगमको हङकङ उडान र दिउँसो १ बजे दिल्ली उडानमार्फत यात्रुलाई गन्तव्य देशमा पठाइनेछ। यसका लागि १० गतेबाट नै टिकट बुकिङ खुलाइएको थियो।
भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडानदेखि सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने निगमले उल्लेख गरेको छ।