रामकृष्ण ढकाल र पाँच वर्षीया आर्या अभिनीत म्युजिक भिडियो सार्वजनिक

काठमाडौं - पाँच हजार भन्दा बढी गीतहरूमा आवाज दिइसकेका गायक रामकृष्ण ढकालको नयाँ गीत ’मायाको घर’ सार्वजनिक भएको छ । शुक्रवार काठमाडौंको दरबारमार्ग स्थित क्युएफएक्स सिनेमा, राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै यसको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा गोविन्द कँडेल ‘आशु’को शब्द रचना, हरि लम्सालको सङ्गीत तथा रामकृष्ण ढकालको स्वर रहेको छ । ’मायाको घर’ एउटा सुमधुर गीत हो, जसमा समावेश बाबा र छोरीको कथाले दर्शकको मन छुन्छ । गीतको भिडियोलाई स्वीकृति सापकोटाले निर्देशन गरेकी छन् । यसमा गायक ढकाल र पाँच वर्षीया कलाकार आर्या भानीले अभिनय गरेका छन् । भिडियोमा ढकालले एकल पिता र आर्याले छोरीको भूमिकामा अभिनय गरेका छन् । 

कार्यक्रममा ढकालले यो भिडियोको कथा कहीँ कतै हाम्रो नजिकमा मेल खाने बताए। उनले यो कथा आफ्नो पनि नजिकको रहेको र धेरैको जीवनमा मेल खाने प्रतिक्रिया दिए । निर्देशक सापकोटाले भिडियोमा हाम्रै समाजमा रहेको कथालाई उतारेको जनाइन् । उनले आफ्नो पहिलो निर्देशन रहेको जानकारी दिइन् । कलाकार आर्याले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिइन् । 

विशेष अतिथिको रूपमा उपस्थित नेपाल नाट्य तथा सङ्गीत प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले म्युजिक भिडियोको सफलताको शुभकामना दिँदै नेपाली गीत सङ्गीत क्षेत्रमा गायक रामकृष्ण ढकालको नाम सुनौलो रहेको बताए । कार्यक्रममा गीतकार कँडेल, सङ्गीतकार लम्साल तथा अतिथिको रूपमा गायक द्वय यम बराल र हेमन्त शर्माको पनि उपस्थिति थियो। राई, शर्मा र बरालले संयुक्त रूपमा म्युजिक भिडियो सार्वजनिक गरेका थिए । 

भिडियोमा सुशील खनालको छायाङ्कन तथा सम्पादन रहेको छ भने क्रिएटिभ हेड आशा गौतम र सहायक निर्देशक रोशन अधिकारी हुन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×