खराव ब्याटिङका कारण नेपाल नामिबियासँग पराजित

काठमाडौँ - खराव ब्याटिङका कारण आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको छ। स्कटल्यान्डको  क्याम्बुस्दुन न्यू ग्राउन्डमा सोमबार राति सकिएको खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको हो।

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु टिम स्कटल्यान्ड र नामिबियाविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्न जानुअघि नेपाली टिमको जुन पक्षको चिन्ता गरिएको थियो, पहिलो खेलमा नेपाल त्यसैमा चुक्यो।

यो हारपछि नेपालमाथि दबाब थपिएको छ। लिग-२ को अंक तालिकामा नेपाल फेरि सात टिम मध्ये छैटौं स्थानमा पुगेको छ। नेपाललाई पराजित गर्दै नामिबिया भने पाँचौ स्थानमा उक्लिएको छ। 

नामिबियाका लागि मध्यक्रमका ब्याट्सम्यान जान निकोल इटोनले सबैभन्दा बढी ६० रन जोडे। ४५औं ‌ओभरमा सोमपाल कामीबाट क्याच हुनुअघि उनले ७० बलमा ५ चौका र १ छक्का हिर्काएका थिए। 
नामिबियाका लागि ओपनर लाउरेन्सले २३ बलमा १८ रन जोडेका थिए।

उनलाई करण केसीले सातौं ओभरमा आउट गरेपछि नेपालले पहिलो सफलता हात पारेको थियो। त्यतिबेला नामिबियाले ३१ रन जोडेको थियो। त्यसपछि अर्का ‌ओपनर डिभान ककलाई कप्तान सन्दीप लामिछानेले ४१ रन बनाएर खेलिरहदा एलबिडब्लूको धरापमा पारे। ११औं ओभरमा आउट भएका उनले ३२ बलमा ७ चौका हिर्काएका थिए। 

त्यसपछि नेपाली बलरले लगातार विकेट लिँदै खेललाई नियन्त्रणमा राखेका थिए। अर्धशतक बनाएका इटोनले सम्हालिएर खेल्दा नामिबियाको २ सय रन कटेको थियो। ४७.३ ओभरमा अलआउट भएको नामिबियाले २२० रन जोड्न सफल भएको थियो। 

बलिङमा नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिएका थिए। ६ वर्षअघि नामिबियाविरूद्धकै खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका सन्दीपले १० ओभरमा ५४ रन खर्चिएका थिए। पहिलो ५ ओभरमा कसिलो बलिङ गरेका सन्दीप पछिल्ला ५ ओभरमा भने महँगो सावित भएका थिए।

२२१ रनको लक्ष्य पछयाएको नेपाल कुनै पनि बेला सहज स्थितिमा देखिएन। नेपालले आठौं ओभरमा ३० रन बनाउँदा पहिलो विकेटको रुपमा आसिफ शेखलाई गुमायो। १४ रन बनाएका आसिफ अफसाइडमा क्याच भएका थिए। 

आसिफ आउटपछि कुशल भुर्तेल पनि लामो समय टिक्न सकेनन्। उनी १३औं ओभरको अन्तिम बलमा 'स्विप सट' खेल्ने कोशिस गर्दा विकेटकिपरबाट समातिए। आसिफ आउट भएपछि भुर्तेलले १ छक्का हिर्काएका थिए। उनी १७ रनमा आउट हुँदा नेपालले ४९ रनमा दुवै ओपरन गुमायो। 

१५औं ओभरमा नेपालले अर्को विकेट गुमायो। रोहितकुमार पौडेल शून्यमा रनआउटको सिकार भए। ७ बल खेलेका रोहित डिफेन्सिभ सर्ट खेलेपछि रनका लागि कुदेका थिए। तर नामिबियाका कप्तान इरामसले उत्कृष्ट फिल्डिङ गर्दै रोहितलाई खाता नै खोल्न नदिइ आउट गराएका थिए। 

नेपालको विकेट जाने क्रम यतिमै रोकिएन। दीपेन्द्रसिंह ऐरी १८औं ओभरमा ४ रनमा क्याच आउट भए। नामिबियाका विसेले राम्रो लाइन र लेन्थमा फालेको बलमा अघि बढेर ब्याटिङ गरेका दीपेन्द्रले फितलो प्रहार गरेका थिए। 

त्यसपछि देव खनाल र आरिफ शेखले नेपालको इनिङ्ग्स सम्हाल्न खोजे। ३०औं ओभरमा आउट हुनुअघि देव खनालले ६५ बलमा ३४ रन मात्र जोड्न सके। त्यसका लागि उनले २ चौका हिर्काए। उनी एलबिडब्लूको धरापमा परे। हुन त उनले २६ ओभरमा जीवनदान पाएका थिए। नामिबियाका विलियम्सले खनालको क्याच मिस गरेका थिए। 

आरिफ शेखले ४७ बल खेल्दासम्म चौका/छक्का हिर्काउन सकेनन्। ४८औं बलमा चौका प्रहार गरेका आरिफले सुस्त गतिमा रन बटुलेका थिए। देव आउट भएपछि ब्याटिङमा आएका सोमपाल कामी ३७ ओभरमा १० रन बनाएर आउट भए। आदिल अन्सारीले पनि १३ बलमा १० रन मात्र जोडेका थिए। 

१४३ रनमा ७ विकेट गुमाइसकेको अवस्थामा ब्याटिङमा आएका कारण केसीले नेपालको आसा जगाउन खोजे। उनले १० बल खेल्दासम्म २ चौका र १ छक्का हिर्काएका थिए। तर ११औं बलमा उनी आउट भए।

१९ रन जोडेका करण ४४औं ओभरमा आउट भएपछि नेपालको आसा सकिएको थियो। त्यतिबेला नेपालले ८ विकेटको क्षतिमा १८० रन जोडेको थियो। त्यसपछि बासिर अमहेद ३ रन र सन्दीप लामिछाने शून्यमा आउट भएका थिए। 

आरिफ ५० रनमा नटआउट रहे। ८४ बलमा २ चौका हिर्काउन सकेका आरिफको अर्धशतक नेपालका लागि पर्याप्त हुन सकेन। ७ देश सम्मिलित लिग-२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा रहेको छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ।

२१ खेलबाट ३० अंकसहित स्कटल्याण्ड दोस्रो स्थानमा, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो स्थानमा, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा रहेका छन्।

नेपालविरूद्धको जितसँगै नामिबियाले नेपाललाई पछि पारेको छ। पाँचौ स्थानमा उक्लिएको नामिबियाले १६ खेलबाट १६ अंक जोडेको छ।

१७ खेलबाट १५ अंक जोडेको नेपाल छैटौं स्थानमा झरेको छ। २० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा रहेको छ। 

नेपालको खेल
नेपाल भर्सेस नामिबिया – असार २७

नेपाल भर्सेस स्कटल्यान्ड -  असार २९

नेपाल भर्सेस नामिबिया -  असार ३२

नेपाल भर्सेस स्कटल्यान्ड – साउन १

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×