धरानमा सयपत्री फूलको कारोबार उच्च

धरान - तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ। ३ दिनका अवधिमा धरानमा २ करोड मूल्य बराबर फूलको कारोबार भएको छ। सोमबार, मंगलबार र आज कृषि उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो। खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ।

यही सयपत्री फूलले दिदीबहिनीले दाजु भाइलाई पुज्ने गरिन्छ। कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार सयपत्री फूल गत वर्षभन्दा महँगो भएकोले भारतबाट आएको फूलको माला छिट्टै धेरै सङ्ख्यामा बिक्री भएको छ। लक्ष्मी पूजाको दिन मात्र १ करोडको कारोबार भएको थियो।

१५ दिन अघि नै भारतको कोलकत्ताबाट रु २ लाख तयारी माला ल्याइएका थिए। नेपाली फूलका करिब २ लाख नै माला बिक्री भएको व्यवस्थापक भट्टराईले जानकारी दिएका छन्। भारतीय डेढ लाख माला रु ५० को दरले बिक्री भएको छ भने नेपाली फूलको माला औसत १ सय रुपैया परेको उनले बताएका छन्। भारतीय फूलका माला सस्तो भएका कारण नेपाली फूल व्यवसायीलाई असर परेको फूल व्यवसायी भक्त राईले बताएका छन्।

“यसपाली स्थानीय उत्पादन कम भयो त्यही भएर भारतीय फूलको कारोबार बढ्न गयो। तर गत वर्षको तुलनामा मूल्य वृद्धिसँगै कारोबार पनि बढेको छ।” व्यवस्थापक भट्टराईले भने। उनका अनुसार गतवर्ष १ करोड १५ लाखको फूलको कारोबार भएको थियो। भारतीय फूल न्यून आएको थियो। तर यस पटक फूलको कारोबार पनि बढेको छ।

भारतबाट पनि धेरै फूल भित्रिएको उनको भनाइ छ। आज साँझसम्म बजारमा फूलको कारोबार हुँदा बिक्री सङ्ख्या अझै बढ्ने उनले बताएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×