काठमाडौँ - नेपाल टेलिकमले जनवरी १ (पुस १७)देखि सर्वसाधारणका लागि फाइभजी सुविधा उपलब्ध गराउने भएको छ। परीक्षणकै रूपमा भए पनि उक्त मितिदेखि सर्वसाधारणका लागि समेत फाइभजी उपलब्ध गराउने गरी तयारी भइरहेको टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए। “जनवरीदेखि सर्वसाधारणलाई फाइभजी सुविधा दिने पूर्वतयारीअनुसार नै काम भइरहेको छ,” उनले भने।
टेलिकमले अहिले देशका विभिन्न चार स्थानमा आन्तरिक रूपमा फाइभजी परीक्षण गरिरहेको छ। तोकिएका ती ठाउँमा खासगरी उपकरण परीक्षणको काम भइरहेको अधिकारीले जानकारी दिए।
मोबाइल प्रविधिको पछिल्लो प्रचलित पुस्ताका रूपमा रहेको फाइभजीको प्रयोग नेपालमा पनि अवलम्बन गर्ने उद्देश्यसहित सरकारले नेपाल टेलिकमलाई परीक्षणको सुविधा दिएको थियो। सरकारको सोही निर्णयअनुसार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले २६ सय मेगाहर्ज ब्यान्डमा टेलिकमलाई आवश्यक फ्रिक्वेन्सी उपलब्ध गराएको थियो।
प्राधिकरणले टेलिकमलाई एक वर्षसम्म फाइभजी परीक्षण गर्न पाउने समय सुविधा उपलब्ध गराएको छ। उपकरण जडान कार्य सम्पन्न भएको प्राधिकरणलाई जानकारी गराएपछि परीक्षण अवधि सुरु हुने सर्त राखिएको छ। टेलिकमले सोहीअनुसार उपकरण जडान र परीक्षणको काम गरिरहेको हो। आन्तरिक परीक्षण सफल भएपछि टेलिकमले सर्वसाधारणका लागि यो खुला गर्नेछ।
जनवरीदेखि खुला गर्ने तयारी गरिरहेको टेलिकमले आफ्ना ग्राहकका लागि भने यो सुविधा निःशुल्क उपलब्ध गराउनुपर्नेछ।
गोरखापत्र दैनिकबाट