काठमाडौँ - थापागाउँस्थित कुञ्ज थिएटर गुरुकुलमा नाटक ‘कोही किन बर्बाद होस्’ मञ्चन सुरु गरिएको छ। नाटकले बालबालिकाप्रति अभिभावकको दायित्व, प्रेम तथा मातृत्वले उनीहरुमा पार्ने प्रभावलाई देखाउने कोसिस गरेको छ।
वि.सं. २०१५ सालतिर नै विजय मल्लद्वारा लिखित नाटकलाई २०७१ मा नै मण्डला थिएटरमा मञ्चन गरिएको थियो। नाटकले बालबालिकाको शिक्षण प्रणालीमा अभिभावकसँगै विद्यालयका शिक्षकको भूमिकासमेत महत्त्वपूर्ण हुने पक्षलाई इंगित गरेको छ।
समयले कोल्टे फेरे पनि हाम्रो शिक्षण प्रणालीको स्तर अझै पनि उस्तै रहेकाले नाटकलाई पुन: मञ्चन गरिएको नाटकका परिकल्पनाकार तथा निर्देशक रंगकर्मी चे शंकरले बताएका छन्। ‘खासमा नाटक अहिलेको हाम्रो शिक्षा प्रणालीका लागि व्यंग्य हो’, उनले भने,‘म बालबालिकाको शिक्षा र विकासका लागि पनि काम गरिरहेको भएर नाटकलाई अहिलेको समयमा फेरि मञ्चन गर्न उपयुक्त ठानेको छु।’
जेठ २१ गतेसम्म मञ्चन हुने नाटकमा सुनील पोखरेलसहित सुशान्त घिमिरे, सुवास तिमिल्सिना लगायतका कलाकारहरुको अभिनय रहेको छ।