काठमाडौं - नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गरेका छन् । साक्षात्कारको क्रममा उहाँलेसञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गरे ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ढकालले २०७९ चैत १० गतेदेखि २०८० फागुन मसान्तसम्म विगत एक वर्षमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धीहरू सम्बन्धी प्रस्तुतीकरण गरे । सो क्रममा उहाँले मानवस्रोत विकास तथा व्यवस्थापनतर्फ प्रहरी जनशक्ति, नियुक्ति, बढुवा, सरूवा, एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरणगर्नुको साथै तथ्याङ्क विश्लेयषण समेत गरे । सो अवधिमा भएका गम्भीर प्रकृति एवम् राष्ट्रिय चर्चामा आएका अपराध घटनाहरूको सफल अनुसन्धान, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता, प्रहरी कार्य, सुरक्षा तथा राजस्व संकलन, बन्द हड्ताल÷विरोधका गतिविधि, अवैध÷वेवारिसे हातहतियार नष्ट, प्रहरी प्रशासन, मनोबल तथा कल्याण, प्रहरी कल्याणकारी कार्यक्रम, नेपाल प्रहरी श्रीमती संघबाट सम्पादित कार्यक्रमहरू, प्रदेश प्रहरी कार्यालयका अभियानहरू, नीति तथा योजना कार्यान्वयनको अवस्था, प्रहरी समायोजन एवम् उपलब्धी÷भावी योजना सम्बन्धी उपस्थित सञ्चारकर्मीहरूलाई उनले बिस्तृतरूपमा जानकारी दिए ।
प्रहरी नायव महानिरीक्षक ढकालले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दैनेपाल प्रहरीको कार्ययोजना, २०८० लागू गरी कार्ययोजनाबाट अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान गर्ने, सम्बन्धित अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्ने, प्रविधिलाई जोड दिने लगायतका विषयलाई प्राथमिकतामा राखेर नेपाल प्रहरीले कार्य गर्दै आइरहेको बताए । कार्ययोजना तथा प्रदेश प्रमुखहरूले प्रहरी महानिरीक्षकज्यूसँग गरेको कार्यसम्पादन सम्झौता नै प्रहरी अधिकृतहरूको मूल्याङ्कनको कडि भएको र उक्त सम्झौता बमोजिम सम्पन्न भएका कार्यहरू सन्तोषजनक रहेको र आगामी दिनमा विस्तार गर्दै लैजाने उल्लेख गर्दै प्रहरी नायव महानिरीक्षक ढकालले भने, “प्रहरी महानिरीक्षकज्यूबाट पनि विशेष गरी सम्पूर्ण कामहरूको अतिरिक्त प्रहरी शुद्धिकरण हुनुपर्छ, इमानदार हुनुपर्छ, व्यावसायिक हुनुपर्छ, निष्ठावान हुनुपर्छ तबमात्रै हामीले नागरिकलाई उचित सेवा दिनसक्छौं, नागरिकलाई सुशासन दिनसक्छौं, नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिनसक्छौं भन्ने मान्यतामै हाम्रो नेतृत्व र संगठन अगाडि बढिराखेको छ ।”
प्रहरी नायव महानिरीक्षक ढकालले जबरजस्ती करणी एवम् आत्महत्या जस्तो अपराध परिवारमै, चिनजानकै व्यक्तिबाट धेरै हुने गरेको तथ्याङ्कले देखाएको बताउँदै जबरजस्ती करणी एवम् महिलाप्रति हुने दुर्व्यवहार न्यूनीकरण गर्नका लागि प्रहरीले विभिन्न अभियानहरू नै संचालन गरेको बताए । आत्महत्या रोक्नको लागि सचेतनाको अतिरिक्त स्थानीय विज्ञहरू एवम् नागरिकसँग समन्वय परामर्श दिने कार्य समेत भएको उल्लेख गर्दै आत्महत्या न्यूनीकरण गर्न प्रहरीले मात्रै सम्भव नहुने हुँदा परिवारबाट अभिभावकत्वको साथै समाजका अगुवा एवम् अन्य संघसस्था÷निकाय तथा स्थानीय तह समेतले समन्वय गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । गस्ती पेट्रोलिङलाई बढाउने, प्रहरीको उपस्थिति बढाउने लगायत सचेतना अभियान फैलाउने काम समेत तीव्र गतिमा भइरहेको उनले चर्चा गरे ।
प्रहरी नायव महानिरीक्षक ढकालले जनसंख्या, शहरीकरण, जनघनत्व आर्थिक क्रियाकलापहरू अन्यको तुलनामा जहाँ धेरै हुन्छ त्यहाँ अपराधका घटनाहरू पनि बढि हुने उल्लेख गर्दै अपराध किन सिर्जना भइरहेको छ, अपराधका घटना किन हुन्छन् भन्ने सन्दर्भमा पनि प्रहरी संगठनले चासो राख्दै तथ्य संकलन र अनुसन्धान गर्ने नीति लिएको बताए । स्थानीय तह लगायत सरोकारवाला निकाय अनुसन्धान भई सुझाव प्राप्त भएमा त्यस्ता सुझावबाट अपराध रोकथाम गर्नसहयोग पुग्ने विचार व्यक्त गरे । अहिलेको अवस्थामा राष्ट्रकै समस्याको रूपमा देखा परेको युवावर्गहरू विदेश जाने परिपाटीको असर नेपाल प्रहरीमा पनि रहेको हुँदा नेपाल प्रहरीमा भर्नाको लागि स्थानीय युवाहरूलाई आकर्षित गर्नमातहत प्रहरी कार्यालयहरूमा विभिन्न कार्यक्रमहरू संचालन गरी प्रयास गरिरहेको उनले उल्लेख गरे । संगठनको हितको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझावप्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै समाजलाई सुरक्षित, शान्त बनाउने अभियानमा एकसाथ हिँड्न सकौं भन्ने कामना समेत उनले व्यक्त गरे ।
विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।