काठमाडौं - नायक पल शाह र नायिका बेनिशा हमालको शीर्ष भूमिकामा फिल्म ‘कल्ली’ बन्ने भएको छ । निर्माण पक्षले मंगलबार तीन पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो ।
सार्वजनिक पलको एकल पोस्टरमा उनलाई ‘एङ्ग्री लुक्स’मा देख्न सकिन्छ । उनले बन्दुक समाएका छन्, पृष्ठभूमिमा युद्ध मैदान देख्न सकिन्छ ।
त्यस्तै, बेनिशा रातो साडीमा देखिएकी छन् । उनका हातमा रगत लत्पतिएको छ भने पृष्ठभूमीमा कालीको ठूलो मूर्ति देख्न सकिन्छ । उनको चरित्र रहस्यमय छ ।
निर्माण पक्षका अनुसार पोस्टरमा उनीहरूलाई क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ । यससँगै पल र बेनिशाले पहिलो पटक फिचर फिल्ममा सहकार्य गर्ने पक्का भएको छ ।
निर्देशक लक्ष्मण सुनार तिहारपछि छायांकनमा निस्कने तयारीमा छन् । यसको कथा उनी आफैँले लेखेका हुन् । पटकथा संवादमा भने उनलाई महेश दवाडीले सहयोग गरेका छन् ।
रेड वर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको सहकार्यमा बन्न लागेको यस फिल्मका प्रस्तुतीकर्ता किरण नेपाली हुन् । फिल्मको प्रदर्शन मिति चैत २९ गते नयाँ वर्षलाई तोकिएको छ ।