प्रधानन्यायाधीस चोलेन्द्रको निवास घेराउ गरेर तमासा देखाएकोमा ओलीको आपत्ति

काठमाडौँ - सरकारले प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको निवास घेराउ गरेर तमासा देखाएको भन्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आपत्ति जनाएका छन्। संसदमा दर्ता भएको महाअभियोग पारित हुन नसकेपछि प्रधानन्यायधीसले स्वतः सफाइ पाइसकेको उनले तर्क गरे।

आइतबार आफ्नै निवास बालकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले गठवन्धन सरकारले कानून मिचेर सत्ताको दुरुपयोग गरेको बताए। संविधान–कानून नमान्ने र जंगली राज चलाउने परिपाटीले प्रजातन्त्र नै नरहने उनको टिप्पणी छ।

सञ्चारकर्मीसँग ओलीको भनाइ जस्ताको तस्तै:
को व्यक्ति कस्तो भन्नेसँग हाम्रो प्रश्न होइन। तर नेपाल कानूनी राजको हिसाबले चल्नुपर्छ। प्रधानन्यायधीसमाथि लागेको महाअभियोगको प्रस्ताव प्रतिनिधिसभाको दुई तिहाइले पारित गर्नुपथ्र्यो। त्यो पारित गर्न सरकार असफल भयो। षडयन्त्रपूर्ण ढंगले ७८ सालको फागुन १ गते दर्ता भएको प्रस्तावलाई ७९ साल भदौ १ गतेसम्म सभामुखज्यूले आफ्नो घर्रामा राख्नुभयो। कारवाही अगाडि नै बढ्न दिनुभएन।

प्रधानन्यायधीसमाथि प्रतिनिधिसभाजस्तो ठाउँमा प्रस्ताव दर्ता भइसकेपछि केही नभएझैं गरेर निस्क्रिय बस्नु हुँदैनथ्यो, यसलाई किनारा गर्नुपर्थ्यो। तर सत्तापक्षले गणीतीय खेल र षडयन्त्र गरेर यसलाई राखिराख्यो। हिजो संसदको अधिवेशन सकियो र संसदको कार्यकालै सकियो। महाअभियोग पारित भएन। दर्ता भयो र पारित भएन भनेपछि कुरा सकियो। त्यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो। आफैं बिलम्ब गरेर, प्रक्रिया अगाडि नबढाएर सफाइ दियो। आफैंले खनेको खाल्डोमा आफैं परेर सफाइ दियो।

तीन महिनाभित्र यो प्रश्न टुंग्याउनुपर्ने हुन्छ। कुनै पनि प्रस्तावको कार्यकाल हुन्छ। अवधि हुन्छ। संसदीय प्रक्रियाको प्रस्तावहरु कहिलेसम्ममा टुंग्याउने भन्ने हुन्छ। सेना–प्रहरी हातमा छ भनेर जे पनि गरे हुन्छ? मान्छेको घर घेर्ने, नजरबन्द बनाउने, तमासा गर्ने हो? लोकतन्त्रमा अभियोग पुष्टि नभएपछि प्रधानन्यायधीसले के गर्ने?

बोरिस एल्सिनले रुसको संसदमाथि गोलावारी गरेका थिए? यस्तै प्रवृत्ति देखियो। यस्ता बोरिस एल्सिनसँग संसदका कुरा, लोकतन्त्रका कुरा, कानूनी राजका कुरा के गर्नु? सर्वोच्चमाथि लगातार गोलाबारी भएको छ। यो गैरजिम्मेवारी हो। लोकतान्त्रिक मूल्यमान्यता अनुसार सरकार चल्नुपर्छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×