खजुरा (बाँके)- नेपालगन्ज उपमहानगरपालिकाले ई–रिक्सा चालकलाई सवारीचालक परिचयपत्र वितरण सुरु गरेको छ ।
नेपालगञ्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले सुरुआतमा एक सय १७ जनालाई चालक परिचयपत्र वितरण गरे ।
उपमहानगरपालिकाले पछिल्लो समय ई–रिक्सा चालकलाई परिचयपत्र वितरणका साथै बीमा र अभिमुखिकरण कार्यक्रम गर्दै आएको छ । नेपाल ई–रिक्सा व्यवस्थापन समिति प्रालिले ई–रिक्साको व्यवस्थापनको काम गरिरहेको छ ।
ई–रिक्सा चालकको सुरक्षाका लागि परिचयपत्रसहित स्वास्थ्य बीमा गर्ने योजना अगाडि बढाएको नगर प्रमुख विष्टले बताए । उनले भने, “नेपालगञ्जमा ई–रिक्साको व्यवस्थापन गर्न जरुरी छ, ई–रिक्सा चालकले नेपालको कानुन अनुसार सुरक्षित भएर काम गर्ने वातावरण पाउनुपर्छ ।” उनीहरुको पेसागत सुरक्षा र यात्रीको सुरक्षाका लागि कार्यविधि बनाएर काम गरिरहेको उनले भने ।