झापा - पालिका भित्रका अगुवा किसानहरुलाई सिँचाइ सुविधा पुर्याउन झापाको कमल गाउँपालिकाले १८ वटा सिँचाइ मोटर उपलब्ध गराएको छ।
विगतदेखि नै सिँचाइका लागि गाउँपालिकाले वितरण गरिआएको कार्यक्रमअन्तर्गत यस वर्ष पनि कमलका सातवटै वडाबाट छनोट भई आएका कृषक समूहकलाई सिँचाइ मोटर औजार प्रदान गरिएको कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले बताए। उनका अनुसार सिँचाइको व्यवस्था नभएका करण समस्यामा परेका कृषकहरुलाई लक्षित गरी पानी तान्ने मोटर औजार उपलब्ध गराइएको हो। ती कृषि औजार उपकरण गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले हस्तान्तरण गरे।
पालिकाले पाँचजना परिवारको दुई बिघाभन्दा बढी खेती भएका कृषकलाई सामूहिक रुपमा सिँचाइ सुविधा उपलब्ध गराउनका लागि १८ थान पानी तान्ने मोटर प्रदान गरिएको अध्यक्ष काफ्लेले बताए। यसैगरी गाउँपालिकाले सुक्खा समयअन्तर्गत फागुन, चैत, वैशाख र जेठ महिनामा सिँचाइमा प्रयोग हुने विद्युत् महसुलमा समेत ५० प्रतिशतसम्म अनुदान दिने व्यवस्था गरिएको अध्यक्ष काफ्लेले बताए।