काठमाडौं - नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले बहुचर्चित एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजी र रहस्यमय भएको बताएका छन् । रफत सञ्चार क्लबले आज बुधबार भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा सापकोटाले यस बिषयमा सरकारले अध्ययन र छानविन गरेर गठबन्धन दलले निष्कर्ष निकालेको बताएका हुन् ।
सरकारले बनाउने शक्तिशाली अध्ययन तथा छानबिन कमिटीले दोषी देखिए कारबाही गर्न पछि हट्न नहुने उनले बताए । प्रवक्ता सापकोटाले लोकतन्त्रलाई सुदृढ बनाउनका लागि समय समयमा समिक्षा गर्नुपर्ने जिकिर गरे ।
उनले जनतालाई भ्रममा पारेर व्यवस्थाबिरुद्धको आन्दोलन सफल हुन नसक्ने दावी गरे । वर्तमान सरकारले जनतालाई सुशासन र सेवा प्रवाह सही ढंगबाट पस्कन हालै मात्रै भूकम्पपीडितहरू उचित व्यवस्थापन, राहत वितरणका साथै ललितानिवास, सुनकाण्ड र नक्कली भुटानी शरणार्थी प्रकरणका फाइल खोलेर न्यायको अनुभूति दिलाउने कार्य गरेको उनले जिकिर गरे ।