काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूलाठूला तथा नीतिगत भ्रष्टाचारमा संलग्न हुने सरकारी अधिकारीलाई अकुत सम्पत्तिमा छानबिन गर्न सकिने बताए पनि राजस्व, भन्सार र कर कार्यालयका उच्च पदस्थ सधैँ उम्कँदै आएका छन्।
राजस्व, भन्सार र कर कार्यालयका उच्च कर्मचारीले व्यापारीबाट बुझेको करोडौँ रकम हुन्डीमार्फत दिल्ली र अस्ट्रेलिया लैजाने गरेको स्रोतको दाबी छ। लामो समयदेखि यो क्रम जारी रहे पनि यसलाई रोक्न कुनै विशेष पहल हुन सकेको छैन। स्रोतका अनुसार व्यापारीसँगको सेटिङमा राजस्व चुहावट तथा छलीमा संलग्न हुने कैयौं कर्मचारीलाई व्यापारीले बक्सिस स्वरूप ठूलो परिमाणमा रकम दिने गरेका छन्।
सो रकम कर्मचारीले हुन्डीमार्फत विदेश लैजाने गरेको दाबी स्रोतको छ। त्यसरी बिदेसिएको पैसा’समेत अख्तियारले कुनै भेउ पाउन सकेको छैन। सेटिङधारीले अख्तियारलाई समेत झुक्याइदिने गरेको बताइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले राजस्व, भन्सार र कर कार्यालयका कर्मचारीले व्यापारीबाट करोडौं रुपैयाँ बुझेर सो रकम हुन्डीमार्फत भारतको नोयडा र गुडगाउँ पठाउने गरेको भन्ने गुनासो व्यापक आइरहेको बताएका छन्।
राजधानी दैनिकबाट