काठमाडाैं । सत्तारुढ पाँच दलीय गठबन्धनले राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गरेको छ ।
गठबन्धनको समन्वय समितिको आज बसेको बैठकले सातै प्रदेशमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकाहरुलाई निर्वाचित गराउन आग्रह गरेको हो ।
बैठकले राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा पाँच दलीय संयन्त्र बनाउने निर्णय गरेको समितिका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। कार्कीका अनुसार माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशगत संयन्त्रले नै प्रचारप्रसार र परिचालनको काम गर्नेछ ।
संयन्त्रमा सबै पार्टीको प्रदेश समितिको अध्यक्ष/सभापति र आवश्यकता अनुसार अन्य नेता रहने छन् । गठबन्धनको समन्वय समितिका संयोजक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सातै प्रदेशमा संयन्त्र बनाउन प्रस्ताव गरेका थिए।
राष्ट्रियसभाको १९ सीटका लागि हुने निर्वाचनमा कांग्रेसले ६, माओवादीले ५, नेकपा एकीकृत समाजवादीले ५, जसपाले २ र राष्ट्रिय जनमोर्चाले १ सीट पाउने गरी चुनावी तालमेल गरिएकाे छ ।