काठमाडौँ - आईसीसी विश्वकप लिग-टू अन्तर्गतको खेलमा नामिबियाले घरेलु टोली पपुवा न्युगिनी (पीएनजजी)लाई ६१ रनले हराएको छ। पपुवा न्युगिनीको अमिनी पार्कमा बुधबार भएको नामिबियाले दिएको २१५ रनको लक्ष्य पछ्याएको पीएनजीले ४३ ओभर १ बलमा अलआउट हुदै मात्र १५३ रन मात्र बनायो।
आईसीसी एकदिवसीय विश्वकप २०२३ को छनोटका रुपमा रहेको लिग टूको खेलमा नामिबीयाले जित निकाल्दा नेपाललाई घाटा भएको छ। जितसँगै नामिबियाको २२ खेलमा २६ अंक भएको छ। ७ टोली सहभागी यस लिग टूको अंक तालिकामा नामिबिया पाचौं स्थानमा रहेको छ।
पीएनजीको २४ खेलबाट ५ अंक जोडेर तालिकाको पुछारमा रहेको छ। यता नेपाल २० खेलमा ८ मा जितका साथ १७ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ। पीएनजीका लागि सियाकाले ३८ तथा हिरी हिरीले २९ रन बनाएका थिए। त्यस्तै चाल्स अमिनीले २२ रनको योगदान गरेका थिए।
नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले ३ विकेट लिएका थिए। त्यस्तै टाङ्गीनी लङ्गामिनी, रुबेन ट्रपिलम्यान र जान फ्रायलिंकले २/२ विकेट लिएका थिए। यसअघि पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१४ रन बनाएको थियो।
नामिबियाका लागि कप्तान गेहार्ड इरास्मसले ४९ रन बनाएका थिए। त्यस्तै जान निकोलले ३५ रन बनाउँदा लोहानड्री लौरेन्सले ३४ रनको योगदान गरेका थिए।
पीएनजीका लागि चाड सोपार र काबुआ मोरियाले समान २/२ विकेट लिएका थिए।