प्रेम गीत-३’ हिन्दीको नेपाली बक्स अफिस कलेक्सन पनि नेपाली निर्माताले पाउने

काठमाडौँ - नेपाली कथानक चलचित्र ‘प्रेम गीत-३’ को हिन्दी भर्सनको कलेक्सन पनि नेपाली निर्माताले नै लिने भएका छन्। नेपालमा रिलिज हुने हिन्दी र नेपाली दुबै संस्करणको कलेक्सन नेपाली निर्माताले नै लिने गरी सम्झौता भएको हो।

'नेपालमा रिलिज हुने प्रेम गीत-३ को हिन्दी संस्करणको कलेक्सन पनि नेपाली निर्माताले लिने हाम्रो सम्झौता छ,' भारतमा रहेका प्रेम गीत-३ का निर्माता सन्तोष सेनले भने, 'भारतको कलेक्सन भारतीय वितरकले लिन्छ, नेपालको हाम्रै हुन्छ।'

बलिउड तथा त्यहाँका क्षेत्रीय उद्योगका हिन्दी डब मुभीको नेपाल रिलिजको कलेक्सन भने नेपाल रिलिजका लागि किनेर ल्याउने वितरकले लिने गरेका छन्। भारतीय वितरकले नेपालबाहेकको राइट्स लिएकाले नेपालको कलेक्सन सन्तोषकै हुनेछ।

‘प्रेम गीत-३’ असोज ७ गते रिलिज हुँदैछ। यसका नेपाली र हिन्दी दुबै भर्सन नेपालमा एकै दिन रिलिज हुनेछ। यसअघि हिन्दी भर्सन नेपाली रिलिजको एक सातापछि रिलिज हुने भनिएको थियो। 'दर्शकको माग एकैदिन रिलिज होस् भन्ने भयो, त्यसैले हामी दुबै संस्करण एकैदिन रिलिज गर्दैछौँ,' सन्तोषले भने।

‘प्रेम गीत-३’ निर्माण पक्ष अहिले नेपाल र भारतमा २ टिम बनाएर प्रचारमा छ। प्रदीप खड्का, कृष्टिना गुरुङ, पवनदीप र निर्माता तथा निर्देशक सन्तोष सेनसहितको ११ जनाको टोली भारतमा प्रचारमा छ। नेपाली भाषी बहुल क्षेत्र सिक्किम, दार्जिलिङ, कालिम्पोङ, आसामलगायत कोलकाता हुँदै केही मुख्य सहरमा भारतमा रहेको टोलीले प्रचार कार्यक्रम गरेको छ।

नेपालका मुख्य सहरमा सुनील थापा, प्रताप दासलगायत १५ जनाको टोलीले कन्सर्ट गरिरहेको छ। सन्तोष र प्रदीपको टोली नेपाल आएपछि पत्रकारसम्मेलन लगायत केही कार्यक्रम गर्ने योजनामा छ।

‘प्रेम गीत-३’को ट्रेलर भारतका १७ सय हलमा बजिरहेको छ। चलचित्र भने ७ सय हलमा रिलिज हुनेछ। 'ट्रेलर रिलिज भएका सबै हलमा सिनेमा लाग्दैन। सुरुमा ५ सय हलमा रिलिज हुने भनिएको थियो। अहिले डिमान्ड बढेर ७ सय हलमा रिलिज हुने भएको छ,' सन्तोषले भन्छन्, 'यो संख्या बढ्न पनि सक्छ। प्रचारमा हामी हिँडेको सहरबाट राम्रो प्रतिक्रिया आएकाले डिमान्ड पनि बढ्दै गएको छ।'

सन्तोष सेन निर्माता रहेको ‘प्रेम गीत-३’ लाई सन्तोष र छेतेन गुरुङ निर्देशन गरेका छन्। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×