पाल्पा। पाल्पामा दुई कथा सङ्ग्रह विमोचन गरिएको छ। साहित्यकार शान्ता शाक्यद्वारा रचना गरिएको ‘अपराजित योद्धा’ र ‘बादल फाटेपछि’ कृतिको विमोचन गरिएको हो।
पत्रकार मेघराज शर्माले दुवै कृतिको विमोचन गर्दै कथासङ्ग्रह प्रकाशन गर्न सफल कथाकार शाक्यलाई बधाई दिए। यी कृति सरल भाषामा मार्मिक सामाजिक यथार्थलाई उजागर गरी लेखिएको उनले बताए ।
उपप्राध्यापक अर्चना शाक्यले बादल फाटेपछि कृतिका सम्बन्धमा दसैँ कसको (२०४६) कथाका माध्यमबाट औपचारिकरूपमा साहित्यमा प्रवेश गरेकी शाक्यले कविता, कथा, निबन्ध, समालोचना आदि विधामा कलम चलाएको बताइन्। बादल फाटेपछि कृतिमा १५ कथा समेटिएका छन्। यसमा सामाजिक यथार्थका साथै नारी समस्याको उठान गरिएको छ।
साहित्यकार कमल खत्रीले ‘अपराजित योद्धा’ माथि टिप्पणी गर्दै समसामयिक यथार्थ र समस्यामा केन्द्रित रहेर कथा सिर्जना गरिएको बताए। ग्रामीण जीवनको सरलता र कुटिल सहरिया जीवनप्रतिको वितृष्णा भाव मुखरित भएको उनको ठहर छ।
कथाकार शाक्यले माइतीको न्यानो आँगनमा दुई कृति सार्वजनिक गर्न पाएकामा गौरवको अनुभूति भएको बताइन्। साहित्यकार राजेन्द्रगोपाल सिंहले पाल्पाको साहित्यको पृष्ठभूमिमा महिला साहित्यकारको अवस्था उजागर भएको बताइन्।