काठमाडौँ - संसदको नै अवधि सकिएको भन्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथी महाभियोग प्रस्तावको औचित्य पनि सकिएको बताएका छन्। बिहीबार पार्टी कार्यालय च्यासलमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाभियोगजस्तो विषयलाई सभामुखले ६ महिनासम्म चुपचाप लागेर राखेको भन्दै आक्रोश व्यक्त गरे।
‘महाभियोगजस्तो विषयमा ६ महिनासम्म चुपचाप लाग्न मिल्छ? फागुन १ गते दर्ता भएको महाभियोग प्रस्ताव बाहिर नै निस्कँदैन’, उनले भने, ‘संसदको अधिकार खोसेर मनपरी गर्ने हक सभामुखलाई छैन। तर उहाँले गर्नुभयो। ६ महिनासम्म चेपेर राख्नुभयो।’
उनले अहिले संसदको नै अवधि सकिएको भन्दै महाभियोग पनि सकिएको बताए। ‘संसदले अभियोग प्रमाणित नभएपछि संसद सभामुख स्वभाविक रुपमा फर्केर जान्छ। तर प्रधानन्यायाधीश पदबाट नहट्दै र अभियोग पुष्टि नहुदै राज्य शक्ति लगाएर घर घेर्नु, नजरबन्द गर्नु राज्यआतंकको पराकाष्ठा हो’ उनले भने, ‘यो सरकार खोपडीले सोच्दैन मसलले मात्रै सोच्छ ।’ उनले प्रधानन्यायाधीशको छोरी घरबाट बाहिर निस्कँदा दिनभरी प्रहरी कष्टडीमा राखेको भन्दै गठबन्धनले लोकतन्त्रकै उपहास गरेको बताए।
ओलीले प्रधानन्यायाधीशको सुरक्षा खोसिएकोमा पनि आपत्ति जनाए। ‘कुन कानुनले प्रधानन्यायाधीशलाई विना पक्राउ पुर्जी नजरबन्दमा राख्नुहुन्छ?’, प्रधानमन्त्रीलाई जवाफ दिन चुनौती दिए। सेक्युरिटी खोस्ने, पानीको पाइप काट्ने भन्दै लोकतन्त्रको नाम लिन लाज लाग्नुपर्ने ओलीको भनाइ छ। ‘अकुपाई बालुवाटार’ भन्नेहरु कहाँ गए भन्दै प्रश्न गरे। उनले सरकार स्वेच्छाचारितामा चलेको भन्दै गठबन्धन तन्त्रलाई जनताले टिपेर मिल्काइदिने दावी गरे।